नेपालमा जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना : मन्त्री गीता चौधरी

117 Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरी ले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताउनुभएको छ ।

वनस्पति विभाग को ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्याप्त सम्भावना हुँदाहुँदै पनि यो क्षेत्र अझै प्रारम्भिक चरणमै सीमित रहेको उल्लेख गर्नुभयो ।

मन्त्री चौधरीले विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न निर्देशन दिनुभयो । यसले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाइमा पुर्‍याउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

उहाँले विभागले विकास गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावसायिक उत्पादनमा लैजान सकिने पनि बताउनुभयो ।

यसैबीच, विभागले नेपालका वानस्पतिक सम्पदाको वैज्ञानिक अभिलेख तयार पार्दै ‘वृहत नेपाल फ्लोरा’ प्रकाशन गर्ने तयारी गरेको छ । हालसम्म ६ सय ५८ प्रजातिका वनस्पतिहरू अभिलेखिकरण भइसकेको जनाइएको छ ।

कार्यक्रममा वानस्पतिक स्रोतको संरक्षण तथा विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।