काठमाडाैं ।
गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। गृहमन्त्री गुरुङले नौबिसे–मलेखु र मलेखु–मुग्लिङ खण्डको वस्तुस्थितिबारे विस्तृत जानकारी लिएका थिए।
सो अवसरमा उनले निर्माण व्यवसायीहरूलाई निर्धारित समयमै र उच्च गुणस्तरका साथ काम सम्पन्न गर्न निर्देशन दिए। आयोजनाले पेश गरेको प्रतिवेदनमा निर्माण सामग्रीको अभावलाई मुख्य समस्याका रूपमा औंल्याइएको छ।
विशेषगरी नदीजन्य तथा खानीजन्य सामग्री उत्खननमा कानूनी र प्रशासनिक जटिलताका कारण काममा ढिलाइ भएको उल्लेख गरिएको छ। ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा स्थानीय तहको अवरोध, क्रसर उद्योग बन्द हुँदा आपूर्तिमा आएको समस्या, दोहोरो कर प्रणाली, ढुवानीमा प्रशासनिक झन्झट तथा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिमा ढिलाइ जस्ता कारणले आयोजना प्रभावित भएको जनाइएको छ।
आयोजनाले बेल्खु बगर, घाटबेसी बगर र मलेखु–लाम बगरबाट आवश्यक निर्माण सामग्री उपलब्ध गराइदिन तथा ढुवानी सहजीकरण गर्न सरकारसँग माग गरेको छ।
गृहमन्त्री गुरुङले ‘सम्झौताअनुसार काम नभए र गुणस्तरमा सम्झौता गरिएमा सम्बन्धित कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरिने’ चेतावनी दिएका छन्। साथै उनले समस्याको समाधानका लागि अन्तर–मन्त्रालय समन्वयमार्फत आवश्यक सहजीकरण गर्ने आश्वासन पनि दिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया