संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदलको बैठक सिंहदरबारमा जारी

101 Shares

काठमाडौँ ।
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा जारी रहेको छ।

प्रधानमन्त्री बालेन्द्र साहका राजनीतिक सल्लाहकार तथा कार्यदलका संयोजक असिम साहको अध्यक्षतामा बैठक बसिरहेको हो।

बैठकमा उठेका विषयहरू र राजनीतिक दलहरूको लिखित धारणा संकलन गरी संविधान संशोधनका मुद्दा पहिचान गर्ने तथा कार्यदलको आगामी कार्ययोजना तयार गर्ने विषयमा छलफल भइरहेको छ।

कार्यदलले संविधान संशोधनसम्बन्धी विषयलाई वृहत् रूपमा अघि बढाउने लक्ष्य राखेको संयोजक साहले बताएका छन्। उनले प्रक्रिया राष्ट्रिय सहमति, सहभागिता र तथ्यमा आधारित हुने बताए।

संविधानको धारा २७४ अनुसार संशोधनसम्बन्धी स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै उनले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा जनतामा निहित सार्वभौमसत्तामा प्रतिकूल हुने गरी संशोधन गर्न नसकिने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारे।

निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक प्रतिनिधित्व, सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार तथा प्रदेश संरचनाको सुधारजस्ता विषयमा छलफल गरी अघि बढ्ने उनको भनाइ छ।