काठमाडौँ ।
सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरसफाइ, गोपनीयता र सुरक्षा सुनिश्चित हुने गरी यस्ता कक्ष सञ्चालन तथा आवश्यकताअनुसार स्तरोन्नति गर्न भनेको छ।
मन्त्रालयले विमानस्थलको सरसफाइ अन्तरराष्ट्रिय मापदण्डअनुसार कायम गर्न, दैनिक ‘लगबुक’ प्रणाली लागू गर्न र विश्व स्वास्थ्य सङ्गठन तथा अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठनका स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ। साथै महिला यात्रुका लागि शौचालयमा निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न पनि भनिएको छ।
निर्देशन कार्यान्वयनको जानकारी मन्त्रालयलाई दिन र कार्यान्वयन नभएको खण्डमा सर्वसाधारणले सूचना दिन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया