श्रम संस्कृति पार्टीका सांसद आरेन राईको स्पष्टोक्ति

113 Shares

काठमाडौँ — श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आफ्नो पार्टीलाई “पूर्वका राईहरूको पार्टी” भन्ने भ्रम फैलिएको भन्दै त्यसलाई अस्वीकार गर्नुभएको छ। उहाँले पार्टी कुनै पनि क्षेत्र, जात वा समुदायमा सीमित नभएको स्पष्ट पार्नुभयो।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपसभामुख पदमा रुवी कुमारी ठाकुरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।

उहाँका अनुसार पार्टीले भूगोल, जात र धर्मका आधारमा विभाजित नभई सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने लक्ष्य राखेको छ।

सांसद राईले मधेश प्रदेश सबैभन्दा बढी जनसंख्या भएको र विगतमा बढी उत्पीडन भोगेको क्षेत्र भएकाले उपसभामुखका लागि त्यस क्षेत्रको प्रतिनिधित्व हुने गरी रुवी कुमारी ठाकुरलाई रोजिएको पनि बताउनुभयो।

उहाँले लोकतन्त्रको सुन्दर पक्ष प्रतिस्पर्धा भएको उल्लेख गर्दै आफ्नो उम्मेदवारलाई समर्थन गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो।