उपसभामुख चयन प्रक्रिया सुरु: आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन

115 Shares

काठमाडाैं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार हुने निर्वाचनको उम्मेदवारी दर्ता बिहीबार हुने भएको छ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ। प्रतिनिधिसभाका सचिव हर्कराज राई द्वारा जारी सूचनाअनुसार दिउँसो साढे २ बजे उम्मेदवारहरूको नामावली सार्वजनिक गरिनेछ।

संविधानअनुसार सभामुख र उपसभामुख फरक–फरक लिङ्ग र दलबाट हुनुपर्ने व्यवस्था छ। यस कारणले संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख पद नपाउने भएको छ।

यद्यपि, रास्वपाले समर्थन गर्ने अन्य दलबाट उपसभामुख चयन हुने लगभग निश्चित छ। प्रतिनिधिसभामा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन् भने कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद रहेका छन्।

उपसभामुख पदका लागि एमाले बाहेकका अधिकांश दलहरूले दाबी गरिरहेका छन्।