अमेरिका–इरानबीच दुई साताको युद्धविराम सहमति

118 Shares

एजेन्सी । अमेरिकाइरान बीच दुई हप्ताका लागि युद्धविराम गर्ने सहमति भएको छ, जसले पश्चिम एशियामा जारी तनाव केही कम हुने अपेक्षा गरिएको छ।

अमेरिकी समयसीमा सकिन लाग्दा भएको वार्तापछि यो सहमति जुटेको हो। युद्धविरामका लागि इरानले अघि सारेको १० बुँदे प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले वार्ताको आधार बनाएका हुन्।

सम्झौताअनुसार, युद्धविरामको बदलामा इरानले हर्मुज जलमार्ग मा आवतजावत गर्ने पानीजहाजलाई सुरक्षित मार्ग उपलब्ध गराउने भएको छ। तेहरानका विदेशमन्त्री सैयद अब्बास अराघ्ची ले इरानमाथि आक्रमण रोकिएमा युद्ध अन्त्य गर्न तयार रहेको बताएका छन्।

यस प्रक्रियामा पाकिस्तान ले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै राष्ट्रपति ट्रम्पलाई समयसीमा दुई हप्ता थप्न आग्रह गरेको थियो। स्थायी शान्ति सम्झौताका लागि इस्लामावाद मा थप वार्ता हुने जनाइएको छ।

यसअघि राष्ट्रपति ट्रम्पले इरानविरुद्ध कडा अभिव्यक्ति दिएपछि अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको थियो। पोप लगायतका विश्व नेताहरूले यस्ता धम्कीहरू अस्वीकार्य रहेको बताएका थिए। साथै बेलायत सहित अमेरिकी साझेदार राष्ट्रहरूले पनि उक्त अभिव्यक्तिको विरोध गरेका थिए।