अबुधाबीमा ड्रोन अवशेष खस्दा घाइते नेपाली खतरामुक्त

174 Shares

एजेन्सी — अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्था खतरामुक्त रहेको परराष्ट्र मन्त्रालय नेपालले जनाएको छ।

संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासले घाइते सातै जनासँग सम्पर्क गरी उनीहरूको अवस्थाबारे जानकारी लिएको मन्त्रालयले उल्लेख गरेको छ।

शुक्रबार घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको भनिए पनि हाल सबै सातै जना खतरामुक्त रहेको पुष्टि गरिएको छ। तीमध्ये दुई जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी पाँच जनाको उपचार जारी छ।

यूएईको सरकारी सञ्चारमाध्यममा सात जना नेपाली घाइते भएको खबर आएपछि दूतावासले सक्रिय रूपमा चासो दिँदै अवस्थाबारे जानकारी लिएको हो।

घटनामा इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले अवरोध गर्दा त्यसका भग्नावशेष अबुधाबीको अजबान क्षेत्रमा खसेका थिए। उक्त घटनामा ७ नेपालीसहित १२ जना घाइते भएका थिए, जसमा ५ जना भारतीय नागरिक पनि रहेका छन्।