काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार चैत २० गते मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाइएको हो।
नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर २०२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १८२ रुपैयाँ पुगेको छ।
मूल्यवृद्धिपछि पनि निगम घाटामै रहेको जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा तथा डिजेलमा १२० रुपैयाँ ५४ पैसा घाटा रहेको छ। यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा रहेको उल्लेख गरिएको छ।
निगमले पछिल्लो मूल्य समायोजनपछि पनि प्रत्येक १५ दिनमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको छ।
निगमका अनुसार पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ। सोही कारण इन्डियन आयल कर्पोरेसन बाट प्राप्त हुने खरिद मूल्य समेत उच्च भएको जनाइएको छ।
इन्धनको मूल्यवृद्धिसँगै यातायात भाडा तथा उपभोग्य वस्तुको मूल्यमा समेत थप दबाब पर्ने अनुमान गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया