काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा एमाले को संसदीय दलको बैठक शुरु भएको छ।
पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकमा राष्ट्रिय सभाका सांसदहरूसहितको सहभागिता रहेको छ। बैठकले प्रतिनिधि सभा संसदीय दलका नेता, प्रमुख सचेतक लगायतका पदाधिकारी चयन गर्ने बताइएको छ। साथै संसदमा पार्टीले खेल्ने भूमिकाबारे पनि छलफल हुने जनाइएको छ।
संघीय संसद बैठक बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। सोही बैठकअघि एमालेले संसदीय दलको नेतृत्व टुंग्याउन लागेको हो।
पार्टी अध्यक्ष ओली र महासचिव शंकर पोखरेल ले चुनाव हारेपछि वरिष्ठ नेताको हैसियतमा उपाध्यक्ष रामबहादुर थापा बादल दलको नेता बन्ने सम्भावना रहेको बताइएको छ।
गत निर्वाचनमा एमालेले २५ सिट जितेको थियो।
एमालेले अध्यक्ष ओलीको पक्राउविरुद्ध राजनीतिक र कानुनी दुवै माध्यमबाट प्रतिवाद गर्ने घोषणा गरिसकेको छ। साथै सडक र सदन दुवैमा सशक्त भूमिका खेल्ने रणनीति बैठकले तय गर्ने नेताहरूले बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया