इरान युद्धको असर: अमेरिकामा पेट्रोल ४ डलर नाघ्यो, विश्वभर इन्धन संकट गहिरियो

123 Shares

एजेन्सी । इरान सँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढिरहेका बेला अमेरिका मा पनि पेट्रोलको औसत मूल्य ४ डलर नाघेको छ।

उक्त मूल्य सन् २०२२ पछिकै उच्च हो। हाल साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध सुरु हुनुअघि भन्दा एक डलरभन्दा बढीले वृद्धि भएको हो। यसअघि युक्रेन युद्ध पछि सन् २०२२ मा मूल्य उच्च भएको थियो। अमेरिकाका विभिन्न राज्यमा भने मूल्य फरक–फरक रहेको छ।

मध्यपूर्वका प्रमुख उत्पादक देशहरूबाट आपूर्ति अवरुद्ध भएपछि इन्धनको मूल्यमा प्रत्यक्ष असर परेको हो। हालै गरिएको एक सर्वेक्षणअनुसार करिब ४५ प्रतिशत अमेरिकी नागरिक पेट्रोल किन्न सक्ने क्षमताबारे गम्भीर चिन्तामा रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इन्धन महँगो हुँदा ढुवानी क्षेत्र पनि प्रभावित भएको छ। डिजेलको मूल्य पनि उल्लेखनीय रूपमा बढ्दा सामान ढुवानी गर्ने सवारीसाधनमा थप भार परेको छ। विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने महत्त्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा आपूर्ति संकट अझ गहिरिएको छ।

मूल्य घटाउने प्रयासस्वरूप अन्तर्राष्ट्रिय ऊर्जा निकायले सदस्य राष्ट्रहरूको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेको छ।

यसैबीच, इन्धन अभावको चरम संकट भोगिरहेको क्युवा मा रुसी तेल बोकेको ट्यांकर पुगेको छ। ७ लाख ३० हजार ब्यारेल कच्चा तेल बोकेको जहाज हभानाको पूर्वस्थित माटान्जास बन्दरगाहमा रोकिएको छ।

डोनाल्ड ट्रम्प ले क्युवामा तेल पठाउने देशमाथि भन्सार शुल्क बढाउने चेतावनी दिनुभएको छ।