पश्चिम एशियाको तनावका कारण तेलको मूल्य ११५ डलरभन्दा माथि, बजारमा उतारचढाव

123 Shares

एजेन्सी । पश्चिम एशियामा जारी द्वन्द्वका कारण एशिया क्षेत्रमा कच्चा तेलको मूल्य फेरि बढेको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दै प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको हो।

ब्रेन्ट कच्चा तेल को मूल्य ११५.८४ डलर पुगेको छ, जुन करिब २.९ प्रतिशतले वृद्धि भएको जनाइएको छ। गत फेब्रुअरी २८ अघि तेल करिब ७२ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको थियो, तर पछिल्लो समय मूल्यमा निरन्तर उतारचढाव देखिएको छ।

गत मार्च १९ मा तेलको मूल्य ११८ डलर प्रतिव्यारेलसम्म पुगेको थियो भने गत शुक्रबारसम्म ११२ डलरभन्दा तल झरेको थियो। पश्चिम एशियामा जारी तनाव र युद्धका कारण मूल्य बारम्बार परिवर्तन भइरहेको छ।

बीबीसी का अनुसार इरानविरुद्धको अमेरिका–इजरायल द्वन्द्व पाँचौँ हप्तामा प्रवेश गरेको छ। यस क्रममा खाडी क्षेत्रमा औद्योगिक संरचनामाथि आक्रमणका घटना बढेका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई) ले अबुधाबीस्थित एक आल्मुनियम प्लान्टमा आक्रमण हुँदा धेरै मानिस घाइते भएको जनाएको छ भने बहराइनले पनि विश्वकै ठूलो आल्मुनियम गलाउने कम्पनीमा भएको आक्रमणमा दुई कर्मचारी घाइते भएको बताएको छ।

विश्लेषकहरूका अनुसार मध्यपूर्वमा जारी तनावले विश्व ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पारिरहेको छ, जसले तेलको मूल्य अझै बढ्न सक्ने संकेत दिएको छ।