काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्ने बताउनुभएको छ ।
बिहीवार सिंहदरबारमा सांसदहरूको शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले संसदलाई मर्यादित र अनुशासित बनाउन उच्च राजनीतिक संस्कृतिको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
उहाँले संसदभित्र देखिने वैचारिक घर्षणलाई सन्तुलित गर्दै सभामुखले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सभामुखको मुख्य दायित्व सांसदहरूको विशेषाधिकारको रक्षा गर्नु, संसदको गरिमा कायम राख्नु तथा वादविवाद, प्रतिवाद र संवादलाई निष्पक्ष रूपमा संयोजन गर्नु भएको उहाँले स्पष्ट पार्नुभयो ।
सभामुख संसदको प्रवक्ता तथा संसदीय अधिकारको प्रमुख रक्षक भएको उल्लेख गर्दै उहाँले पारदर्शिता, अनुशासन र मर्यादा कायम राख्नुपर्नेमा जोड दिनुभयो । साथै सभामुखले संविधान, प्रतिनिधिसभा नियमावली तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय संसदीय मान्यताका आधारमा निर्णय लिनुपर्ने बताउनुभयो ।
केसीले सभामुख कुनै एक पक्षको नभई सम्पूर्ण प्रतिनिधि सभाको साझा पद भएको उल्लेख गर्दै सबै पक्षलाई समेटेर एकता कायम गर्ने व्यक्तित्व हुनुपर्नेमा जोड दिनुभयो ।
ज्येष्ठ सदस्य केसीले बिहीवार नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई शपथ गराउनुभएको थियो । सभामुख चयन नभएसम्म उहाँले नै प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया