एमाले वैचारिक रूपमा विचलित भएको छैन : केपी शर्मा ओली

124 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले एमाले वैचारिक रूपमा विचलित नभएको दाबी गर्नुभएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सांसदहरुसँगको छलफलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

पार्टीको ५५ वर्ष लामो इतिहास स्मरण गर्दै अध्यक्ष ओलीले ‘सच्चिनुपर्छ’ भन्ने बाह्य दबाबको खण्डन गर्दै सच्चिनुको अर्थ अराजकता फैलाउनु नभएको स्पष्ट पार्नुभयो ।

हालैका निर्वाचनमा पार्टीले “अभूतपूर्व धक्का” खाएको स्वीकार गर्दै उहाँले उक्त परिणाम नीति वा विचारका कारण नभई सांगठनिक कमजोरी र घेराबन्दीका कारण आएको बताउनुभयो ।

उहाँले पार्टी स्थापनाको कठिन इतिहास उल्लेख गर्दै राणा शासनकालमा सीमित व्यक्तिबाट सुरु भएको आन्दोलन आज यहाँसम्म आइपुगेको बताउनुभयो । साथै संस्थापकहरूबारे विभिन्न मत रहेको उल्लेख गर्दै पुष्पलाल श्रेष्ठ को भनाइअनुसार मोतीदेवीलाई पनि संस्थापकको रूपमा स्वीकार गरिएको बताउनुभयो ।

अध्यक्ष ओलीले एमाले वैचारिक रूपमा सही दिशामा रहेको दाबी गर्दै कमजोरी संगठनात्मक पक्षमा देखिएको स्वीकार गर्नुभयो । उहाँका अनुसार पार्टीले आफ्नो विचार र संगठनात्मक सिद्धान्त प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा समस्या आएको हो ।

“हामी बिग्रेका छैनौं, वैचारिक रूपमा सही ठाउँमा छौं,” उहाँले भन्नुभयो, “कमजोरी संगठनमा देखिएको हो, सुधार गरेर अगाडि बढ्छौं ।”

उहाँले एमालेलाई पुनः निर्णायक राष्ट्रिय शक्ति बनाउने संकल्पसमेत दोहोर्‍याउनुभयो ।