हतार वा दबाबमा होइन, जिम्मेवारीका आधारमा राजीनामा : गगन थापा

115 Shares

काठमाडौं । नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले आफूले हतार वा हतास मनस्थितिमा राजीनामा नदिएको स्पष्ट पार्नुभएको छ।

पार्टी केन्द्रीय कार्यालयमा जारी कार्यसमिति बैठकमा बोल्दै थापाले विशेष महाधिवेशनपछि आफ्नै नेतृत्वमा पार्टी निर्वाचनमा गएको उल्लेख गर्दै त्यसको परिणामबारे भइरहेका टिप्पणीहरू आफ्नो सरोकारको विषय नभएको बताउनुभयो।

उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि नै राजीनामा दिने मनस्थिति बनाएको भए पनि निर्वाचन प्रक्रियाका कारण केही ढिलाइ भएको जानकारी दिनुभयो। आफूले कुनै दबाबमा नभई जिम्मेवारी र जवाफदेहिताको आधारमा राजीनामा दिएको उहाँको भनाइ छ।

थापाले भन्नुभयो, “मैले हतारोमा र हतास भएर राजीनामा दिएको होइन। विशेष महाधिवेशनमार्फत नेतृत्व लिएर निर्वाचनमा जाँदा हाम्रो पक्षमा मत माग्न नजाने र मत नहाल्नेहरूले गरेको टिप्पणी हाम्रो सरोकारको विषय होइन। मेरो राजीनामा सोच बनाइसकेपछि उपसभापतिसँग भावना साझा गरेको थिएँ। म तत्कालै राजीनामा दिन चाहन्थेँ, तर निर्वाचन प्रक्रिया पूरा गर्नुपर्ने भएकाले केही लम्बियो। यो दबाबमा दिएको राजीनामा होइन, यो जवाफदेहिताको विषय हो।”

उहाँले आफ्नो नेतृत्वमा पार्टी निर्वाचनमा गएको उल्लेख गर्दै त्यसको परिणामको जिम्मेवारी आफूले लिनुपर्ने ठानेर राजीनामा दिएको बताउनुभयो।

साथै, कांग्रेसलाई निर्वाचनमार्फत प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको उल्लेख गर्दै उक्त जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।