मिथिलाञ्चलमा चैती छठ पर्व सुरु, चार दिनसम्म धुमधाम

134 Shares

नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत् चैती छठ पर्व सुरु भएको छ । तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत जिल्लामा यो पर्व धार्मिक विधिपूर्वक मनाउन थालिएको हो ।

महोत्तरीका जलेश्वर, मटिहानी, गौशाला, बर्दिबासलगायत क्षेत्रका पोखरी, तलाउ तथा बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसी नदी र नहरका किनारमा श्रद्धालु भक्तजनको घुइँचो लाग्न थालेको छ ।

जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी कामेश्वर पाठकका अनुसार छठ पर्वले सत्य, अहिंसा र सबै जीवप्रति सहानुभूति राख्ने सन्देश दिन्छ । सूर्य उपासनाको अद्वितीय परम्पराका रूपमा रहेको यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य दुवैको पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि तथा रोगमुक्तिको कामनासहित मनाइने यस पर्वका अवसरमा जलाशयहरूमा श्रद्धालुहरूको भीड लाग्ने गर्दछ ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन आज ‘नहा खा’ (नुहाएर शुद्ध भोजन गर्ने) विधि गरिन्छ । दोस्रो दिन ‘खर्ना’मा व्रतालु दिनभरि उपवास बसेर साँझ कूलदेवताको पूजा गरी प्रसाद ग्रहण गर्छन् ।

तेस्रो दिन षष्ठीमा ठकुवा, भुसुवा, खजुरिया, पेरुकिया लगायतका परिकार तथा फलफूलसहित साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिन्छ । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन गरिन्छ ।

धार्मिक विश्वासअनुसार महाभारतकालदेखि सुरु भएको यो परम्परा सूर्यदेवप्रति आस्था र श्रद्धासँग जोडिएको छ । सामाजिक सद्भावको प्रतीक मानिने छठ पर्व हिन्दू मात्र नभई अन्य समुदायले पनि श्रद्धापूर्वक मनाउने परम्परा रहिआएको छ ।