दसैँसँग जोडिएको परम्परागत सराय नाचले लुम्बिनी प्रदेशका पहाडी जिल्लादेखि तराईका बस्तीहरूसम्म सांस्कृतिक रौनक थपेको छ । गुल्मी, अर्घाखाँची, पाल्पा र प्युठानका कोटघर तथा देवीका शक्तिपीठमा नाचिने सराय पछिल्लो समय बसाइँसराइसँगै रुपन्देहीलगायत तराईका क्षेत्रमा पनि विस्तार हुँदै गएको छ ।
धार्मिक आस्था, ऐतिहासिक परम्परा र सामुदायिक एकताको प्रतीकका रूपमा रहेको यो नाच दसैँको सांस्कृतिक पहिचान बनेको छ । दसैँको टीकाको भोलिपल्टदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न स्थानमा सराय नाच्ने चलन छ । स्थानअनुसार यसको शैली र समय फरक हुन्छ ।
कतै पञ्चेबाजाको तालमा नाचिन्छ भने कतै परम्परागत हतियार प्रदर्शन गर्दै युद्धको झल्को दिने शैली अपनाइन्छ । सरायसँग जोडिएका धार्मिक विश्वासअनुसार देवीदेवताले दुष्ट शक्तिमाथि विजय प्राप्त गरेको खुसीमा यो नाच सुरु भएको मानिन्छ । बाइसे–चौबिसे राज्यकालसँग जोडिएका ऐतिहासिक कथाले पनि यसको महत्त्व बढाएका छन् ।
गुल्मीको चन्द्रकोट, मुसिकोट, धुर्कोट र इश्माकोटदेखि अर्घाखाँचीका अर्घा तथा भण्डारथुम र पाल्पाका विभिन्न शक्तिपीठमा सराय नाच विशेष आकर्षणका रूपमा रहँदै आएको छ । प्युठानका केही क्षेत्रमा भने तिहारसम्म पनि सराय नाच्ने परम्परा रहेको छ । गाउँबाहिर तथा विदेशमा रहेका स्थानीय दसैँ मनाउन घर फर्किएपछि मन्दिरमा दर्शन गर्ने र सरायमा सहभागी हुने चलनले आफन्तबीच भेटघाट र सामुदायिक सम्बन्ध बलियो बनाउने गरेको छ ।
नयाँ पुस्तामा सरायको मौलिक भाका, शब्द र परम्पराबारे जानकारी घट्दै गएको संस्कृतिविद् तथा संरक्षण अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया