कपिलवस्तुमा दुई समुदायबीच तनाव, अनिश्चितकालीन निषेधाज्ञा जारी

141 Shares

काठमाडौं — कपिलवस्तु को महाराजगञ्ज–बर्गदवा क्षेत्रमा दुई समुदायबीच झडपको स्थिति उत्पन्न भएपछि जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

आज बिहान मन्दिरमा भजन गाउने क्रममा भएको तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो। सम्भावित झडप रोक्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म भेला, सभा तथा जुलुस गर्न निषेध गर्दै आदेश जारी गरेको हो।

प्रशासनका अनुसार निषेधाज्ञा क्षेत्र पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म लागू गरिएको छ।

आज राम नवमी तथा ईद का अवसरमा मन्दिर र मस्जिदमा धार्मिक गतिविधि भइरहेका बेला माइकको आवाजलाई लिएर विवाद बढ्दै झडपको स्थिति सिर्जना भएको थियो।

झडपका क्रममा ढुंगा प्रहार हुँदा ५ जना सामान्य घाइते भएका निमित्त प्रमुख जिल्ला अधिकारी भवेश्वर घिमिरे ले जानकारी दिएका छन्। निषेधाज्ञा जारी भएपछि स्थिति नियन्त्रणमा आएको पनि उनले बताएका छन्।