काठमाडौं — ‘समान हक र समान अवसरका लागि एकीकृत आन्दोलन, समाजवादको आधार निर्माणका लागि संविधान संशोधन’ भन्ने मूल नारासहित ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस का अवसरमा शनिबार काठमाडौंको माइतीघरमा कार्यक्रम आयोजना गरिएको छ।
संयुक्त राजनीतिक दलित संघर्ष समिति को आयोजनामा भएको ध्यानाकर्षण सभामा दलित समुदायका अधिकारकर्मी, राजनीतिक दलका नेता तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। हरेक वर्ष मार्च २१ मा विश्वभर यो दिवस मनाइँदै आएको छ, जसले समानता र सामाजिक न्यायका लागि आवाज उठाउँदै आएको छ।
नेपालको संविधानले जातीय विभेदलाई दण्डनीय अपराध माने पनि व्यवहारमा अझै छुवाछुत तथा उत्पीडनका घटनाहरू कायम रहेको सहभागीहरूले बताएका छन्। उनीहरूले यो दिवसले अधिकारका लागि निरन्तर संघर्ष गर्न प्रेरणा दिने उल्लेख गरेका छन्।
यस दिवसको ऐतिहासिक पृष्ठभूमि शार्पभिल हत्याकाण्ड सँग जोडिएको छ। सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको शार्पभिलमा रंगभेदविरुद्धको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो।
सोही घटनाको स्मरणमा संयुक्त राष्ट्र संघ ले सन् १९६६ मा मार्च २१ लाई अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका रूपमा घोषणा गरेको हो। नेपालमा पनि यो दिवस दलित अधिकार र सामाजिक न्यायका लागि महत्वपूर्ण अवसरका रूपमा मनाइँदै आएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया