काठमाडौं — सामाजिक सञ्जाल प्रयोग गरी अनलाइन ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले ठगीमा संलग्न रहेको आरोपमा स्याङ्जाका एक व्यक्तिलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार टिकटकमार्फत चिनजान गरी ह्वाट्सएपमा कुराकानी गर्दै महिलाहरूलाई लक्षित गरी ठगी गरेको आरोपमा विशाल थापा क्षेत्री नाम बताउने ३४ वर्षीय भेषराज वाग्लेलाई पक्राउ गरिएको हो। उनी स्याङ्जाको बिरुवा गाउँपालिका–२ निवासी हुन्।
उनीलाई काठमाडौंको चन्द्रागिरि नगरपालिका–७, थानकोटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा आरोपितले आफू अमेरिकन आर्मीमा कार्यरत रहेको दाबी गर्दै विभिन्न बहाना बनाउने, नेपालमा बिदामा आएको र जग्गाको कर तिर्न समस्या परेको भन्दै रकम माग गरी ठगी गर्ने गरेको खुलेको छ।
यस्तै, आफ्नो बैंक खातामा ‘लिमिट’ लागेको भन्दै विभिन्न व्यक्तिसँग रकम माग्ने गरेको पनि पाइएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार यसरी ठगी गर्ने गतिविधि भइरहेको पुष्टि भएको छ।
प्रहरीले सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग आर्थिक कारोबार नगर्न तथा कुनै पनि प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया