देशभर मौसम बिग्रिने चेतावनी: शुक्रबारदेखि मेघगर्जन, चट्याङ र तीव्र हावाहुरीको जोखिम

122 Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग ले शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ।

विभागका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशकोशी प्रदेश मा आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

शुक्रबार दिउँसोदेखि विशेषगरी कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका दाङनेपालगञ्ज आसपासका जिल्लामा तथा शनिबार कोशी प्रदेश का विराटनगर, धरानधनकुटा आसपास तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ। हावाको गति करिब ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने जनाइएको छ।

यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले मौसम बिग्रिने संकेतसँगै सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणका अनुसार हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको छ।

पछिल्ला दिनमा हावाहुरीका कारण मानवीय क्षति भइसकेको उल्लेख गर्दै प्राधिकरणले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, झ्यालढोका सुरक्षित राख्न, हावाहुरीका बेला सुरक्षित स्थानमा बस्न तथा बिजुलीका तार र अग्ला संरचनाबाट टाढा रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ।