एजेन्सी । इरान र संयुक्त राज्य अमेरिका–इजरायल बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा डोनाल्ड ट्रम्प प्रशासनले मध्यपूर्वमा थप हजारौँ अमेरिकी सैनिक परिचालन गर्ने विषयमा गम्भीर छलफल सुरु गरेको छ ।
रोयटर्स का अनुसार ‘अपरेसन एपिक फ्युरी’ लाई अझ सशक्त बनाउन तथा इरानका रणनीतिक क्षेत्रहरूमा नियन्त्रण कायम गर्न ‘ग्राउण्ड फोर्स’ पठाउने विकल्पबारे ह्वाइट हाउस ले विचार गरिरहेको हो । यस योजनाको मुख्य लक्ष्य इरानको करिब ९० प्रतिशत तेल निर्यात हुने खार्ग टापु नियन्त्रणमा लिनु र स्ट्रेट अफ हर्मुज हुँदै हुने तेल ट्याङ्करहरूको आवागमन सुरक्षित बनाउनु रहेको बताइएको छ ।
सैन्य विज्ञहरूका अनुसार खार्ग टापुलाई ध्वस्त पार्नुभन्दा नियन्त्रणमा लिनु आर्थिक तथा रणनीतिक रूपमा बढी लाभदायक हुने भए पनि यो अत्यन्त जोखिमपूर्ण कदम मानिएको छ । साथै, इरानको उच्च संवर्धित युरेनियम भण्डार सुरक्षित गर्न अमेरिकी विशेष दस्ता परिचालन गर्ने विषयमा समेत छलफल भइरहेको जनाइएको छ ।
गत फेब्रुअरी २८ देखि सुरु भएको युद्धमा अमेरिकाले हालसम्म ७ हजार ८ सयभन्दा बढी हवाई आक्रमण गरिसकेको बताइएको छ, जसमा १२० भन्दा बढी इरानी जलसेनाका जहाजहरू ध्वस्त भएका छन् ।
यस युद्धमा हालसम्म १३ जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन् । राष्ट्रपति ट्रम्पले चुनावी अभियानका क्रममा अमेरिकालाई विदेशी युद्धबाट टाढा राख्ने प्रतिबद्धता जनाए पनि इरानको ब्यालिस्टिक मिसाइल क्षमता र आणविक हतियारको सम्भावनालाई समाप्त पार्न ‘बुट्स अन द ग्राउन्ड’ विकल्पलाई अस्वीकार गरेका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया