एजेन्सी । जापानले पश्चिम एशियामा जारी द्वन्द्वका बीच आपूर्तिको चिन्ता कम गर्न र पेट्रोलियम पदार्थको स्थिर वितरण सुनिश्चित गर्न आफ्नो भण्डारबाट तेल खुला गर्न शुरु गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
जापानले शुरुमा निजी क्षेत्रले राखेको १५ दिन बराबरको भण्डार खोल्ने योजना बनाएको छ। त्यसपछि सरकारले राखेको एक महिना बराबरको तेल खुला गरिनेछ। जापानी सरकारले तेल प्रशोधनकर्ता र व्यापारिक कम्पनीहरूका लागि अनिवार्य भण्डारण आवश्यकतालाई ७० दिनबाट घटाएर ५५ दिनमा झार्ने निर्णय गरेको छ। यसले उनीहरूलाई मौजुदा भण्डारको केही भाग प्रयोग गर्न सक्षम बनाउनेछ।
प्रधानमन्त्री सानाए ताकाइचीले करिब ८ करोड ९ सय ८० मिलियन ब्यारेल तेल खुला गर्ने घोषणा गर्नुभएको छ। यो अहिलेसम्मकै सबैभन्दा ठूलो रिलिज हो र ४५ दिनको घरेलु खपत बराबरको मात्र हो। सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको विनाशकारी भूकम्प र सुनामीपछि खुला गरिएको मात्राभन्दा १ दशमलव ८ गुणा बढी भएको क्योडो न्यूजले रिपोर्ट गरेको छ। सरकारले राखेको भण्डारबाट थोक विक्रेताहरूलाई तेल बेच्ने तयारी भइरहेको छ।
सन् १९७० को दशकमा सुरु भएको प्रणालीमा जापानले आफ्नो तेल भण्डार प्रयोग गरेको यो सातौं पटक हो। सन् २०२५ को अन्त्यसम्म जापानसँग २५४ दिनको घरेलु माग धान्न सक्ने बराबरको तेल भण्डार थियो। जापान आफ्नो कच्चा तेल आयातको ९० प्रतिशतभन्दा बढी मध्यपूर्वमा निर्भर रहँदा, गत फेब्रुअरीमा मध्यपूर्व द्वन्द्व र होर्मुज जलडमरूमध्यको प्रभावकारी बन्दले यसलाई अत्यधिक जोखिममा पारेको थियो।
यस अवरोधले देशमा कच्चा तेलको मूल्यमा तीब्र वृद्धि ल्याएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया