एजेन्सी । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको छ।
बग्दादमा इरान समर्थित शक्तिशाली समूह काताइब हेजबुल्लाहलाई लक्षित गरी गरिएको दुई वटा आक्रमणमा एक कमान्डरसहित तीन सदस्यको मृत्यु भएको केही समयपछि दूतावासमाथि आक्रमण भएको बताइएको छ।
लामो समयदेखि अमेरिका र इरानबीचको छद्म युद्धको मैदान बनेको इराकलाई फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि मध्यपूर्वको युद्धमा तानिएको बताइएको छ। शनिबार बिहान विस्फोटको आवाज आएलगत्तै अमेरिकी कूटनीतिक नियोगमाथि कालो धुवाँ उठेको एएफपीका एक पत्रकारले बताएका छन्।
दुई सुरक्षा अधिकारीका अनुसार दूतावास परिसरमा ड्रोनद्वारा आक्रमण गरिएको थियो। घटनाबारे अमेरिकी दूतावासले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। युद्ध सुरु भएयता बग्दादस्थित अमेरिकी दूतावासमाथि दोस्रो पटक आक्रमण भएको हो।
तेहरान समर्थित धेरै सशस्त्र समूहहरूलाई वाशिङ्टनले ‘आतङ्कवादी सङ्गठन’ को रूपमा घोषणा गरेको छ। इराकमा ‘इस्लामिक प्रतिरोध’ नामबाट चिनिने इरान समर्थित अभियानअन्तर्गत विभिन्न गठबन्धन बनेका छन्। ती समूहहरूले इराक तथा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूमा दैनिक ड्रोन र रकेट आक्रमण गर्ने दाबी गर्दै आएका छन्।
युद्ध सुरु भएदेखि इराकमा ती समूहका सदस्यहरूलाई लक्षित गरी गरिएका धेरै आक्रमणहरूमा अमेरिका र इजरायलमाथि आरोप लगाइएको छ। पहिलो आक्रमण इरान समर्थित धेरै समूहको उपस्थिति रहेको अरासत क्षेत्रको एक घरमा भएको थियो। त्यसको करिब दुई घण्टापछि नहरावान जिल्लामा एउटा गाडीमा दोस्रो आक्रमण भएको बताइएको छ।
सुरक्षा स्रोतहरूले सुरुमा दुई सदस्य मारिएको बताएका थिए। तर इरान समर्थक स्रोतका अनुसार घरमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या तीन पुगेको पुष्टि भएको छ। कमान्डर अबु अली अल–अमिरीसहित तीन लडाकुका लागि काताइब हेजबुल्लाहले बग्दादमा अन्त्येष्टि जुलुस निकालेको बताइएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त समूहका उच्च नेता अहमद अल–हमिदावी घरमा भएको आक्रमणमा घाइते भएका छन्। इरान समर्थक स्रोतले उक्त आक्रमण ‘लक्षित हत्या प्रयास’ भएको दाबी गरेको छ।
अरासत क्षेत्रका एक स्थानीय बासिन्दाले एएफपीसँग भनेका छन्, “काताइब हेजबुल्लाहले कब्जा गरेको साधारण देखिने घरबारे छिमेकका धेरैलाई जानकारी नै थिएन।”
हालसम्म इरान समर्थक गुटमाथि भएको आक्रमणमा कसको संलग्नता रहेको स्पष्ट भइसकेको छैन भने काताइब हेजबुल्लाहले पनि यसबारे कुनै टिप्पणी गरेको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया