काठमाडौं । अमेरिकाले विश्व बजारमा तेलको मूल्य अत्यधिक बढेसँगै रूसी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ।
इरानसँगको युद्धका कारण विश्व बजारमा तेलको मूल्य अस्वाभाविक रूपमा बढिरहेको भन्दै अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत ढुवानी भइरहेको रूसी तेलमाथिको प्रतिबन्ध केही समयका लागि खुकुलो बनाएको हो।
यसअघि अमेरिकाले रूसबाट तेल खरिद गर्ने देशहरूलाई उच्च भन्सार कर लगाउँदै आएको थियो। तर मूल्यवृद्धि नियन्त्रण गर्न केही समयका लागि यो निर्णय हटाइएको अमेरिकी अर्थमन्त्री Scott Bessent ले जानकारी दिनुभएको छ।
इरानमाथि अमेरिका र इसरायलले निरन्तर आक्रमण गर्दा इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडा र अन्तर्राष्ट्रिय जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा तेल बोकेका ट्यांकरहरू लक्षित जबाफी आक्रमण जारी राखेको छ। यसले विश्व बजारमा तेल आपूर्ति घटाएर मूल्य वृद्धि गराएको छ।
अमेरिकी अर्थमन्त्रीका अनुसार यो छुट अस्थायी मात्र रहेको छ र अप्रिल ११ सम्म लागु हुनेछ। यसबाट विश्व बजारमा करोडौं ब्यारेल कच्चा तेल थपिनेछ र इरान युद्धपश्चात प्रतिव्यारेल सय डलरसम्म पुगेको कच्चा तेलको मूल्य घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिबन्ध हटाइएपछि अन्तर्राष्ट्रिय जलमार्गमा रहेका तेल ट्यांकरहरू रूसले विश्वका विभिन्न देशमा पठाउन सक्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया