नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

9 Shares

काठमाडौं । शारदीय नवरात्रको आठौँ दिन आज नवदुर्गाको आठौँ स्वरूप माता महागौरीको पूजा आराधना गरिँदै छ। यस अवसरमा देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठमा भक्तजनले विधिपूर्वक पूजाआजा गरिरहेका छन्।

धार्मिक मान्यताअनुसार माता महागौरीको पूजा गर्नाले पाप, दुःख र कष्ट नाश भई सुख, शान्ति तथा समृद्धि प्राप्त हुन्छ। सेतो वर्ण, सेतो वस्त्र र आभूषण धारण गरेकी महागौरीलाई शान्ति, पवित्रता र कल्याणकी प्रतीकका रूपमा पूजा गर्ने गरिन्छ। नवरात्रको यस दिन विशेष मन्त्रजप, चण्डीपाठ तथा देवीको आराधना गर्ने परम्परा छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, भद्रकाली, मैतीदेवी, दक्षिणकालीलगायत शक्तिपीठमा विशेष पूजाआजा गरिन्छ।

कतिपय शक्तिपीठमा परम्पराअनुसार बलि दिने चलनसमेत रहेको छ। महागौरीको उपासनाले मनोकामना पूरा हुने र जीवनमा आइपर्ने बाधा हट्ने धार्मिक विश्वासका साथ भक्तजनले श्रद्धापूर्वक देवीको पूजा गर्ने गर्दछन्।