सुनकोशी नदीमा खसेको गाडीमा बेपत्ता तीन जनाको खोजी गर्न गोताखोर परिचालन

7 Shares

काठमाडाैं । सिन्धुलीमा गाडी दुर्घटनामा परी सुनकोशी नदीमा बेपत्ता भएका तीन जनाको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ। दुर्घटनामा तीन जना महिलाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन्। आइतबार बिहान करिब साढे २ बजे फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गमा को १ ज २९७६ नम्बरको गाडी सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो। उक्त गाडी काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको थियो। बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरी बलको नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट नौ जना गोताखोरसहित १० जनाको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार ओखलढुंगाको अस्थायी बेस हर्कपुरबाट पनि १० जनाको टोली घटनास्थलमा खटिएको छ। खोजी तथा उद्धार कार्यमा नेपाल प्रहरीको टोलीसमेत परिचालन भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठका अनुसार दुर्घटनामा मृत्यु भएका तीनै जना महिलाको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा घाइते हुनेमा ओखलढुंगा निवासी २९ वर्षीय चालक आशिष विष्ट, खोटाङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी र १३ वर्षीय अंकित विक छन्।

घाइतेमध्ये सम्झना राईको अवस्था गम्भीर रहेको डीएसपी श्रेष्ठले बताए। उद्धार गरिएका घाइतेहरूको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा उपचार भइरहेको छ। चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी छ।