काठमाडौं । इरानका दिवंगत शाहका निर्वासित छोरा रजा पहलवीले युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीसँग भेट गरेका छन्। उनीहरूको भेट फ्रान्सको राजधानी पेरिसमा भएको हो।
६५ वर्षीय पहलवीले इरानमा अन्तरिम सरकारको नेतृत्व गर्न आफू सक्षम रहेको अभिव्यक्ति दिएका थिए। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको दावीमाथि सन्देह व्यक्त गरेका थिए।
इरान र रूस कयौं दशकदेखि एकअर्काका सहयोगी मुलुक हुन्। पछिल्लो समय अमेरिकाले रूसमाथि इरानले युद्धमा सहयोग गरेको आरोप लगाएको छ। युक्रेनमाथि गरिएको आक्रमणमा रूसले इरानमा डिजाइन गरिएका ड्रोनको ठूलो स्तरमा प्रयोग गरेको छ।
पहलवीसँगको भेटपछि जेलेन्स्कीले भने, “युक्रेन साच्चै एउटा स्वतन्त्र इरान देख्न चाहन्छ, जो रूसलाई सहयोग नगरोस् र मध्यपूर्व, युरोप र विश्वलाई अस्थिर नबनाओस्।”
यस्तै, रजा पहलवीले सामाजिक सञ्जालमा भनेका छन्, “देशको सम्प्रभुताको रक्षाको मूल्य युक्रेनभन्दा राम्रोसँग धेरै कम देशले बुझ्दछन्।”
फेसबुकबाट तपाईको प्रतिक्रिया