काठमाडौं ।
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको प्रमुख जलमार्ग मानिने स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य) अवरुद्ध राख्ने बताएका छन्।
इरानी सरकारी टेलिभिजनमार्फत प्रसारित सन्देशमा उनले यस्तो बताएका हुन्। सन्देश भने उनले प्रत्यक्ष रूपमा नदिई समाचार वाचकमार्फत पढेर सुनाइएको थियो।
अमेरिका र इजरायलले फेब्रुअरीको अन्तिम साता गरेको हवाई आक्रमणमा इरानका अघिल्ला सर्वोच्च नेता आयोतुल्लाह अली खामेनी मारिएपछि उनका छोरा मोज्तबा खामेनीलाई सर्वोच्च नेता नियुक्त गरिएको थियो।
सर्वोच्च नेता बनेपछि उनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। उनको कुनै तस्बिर वा भिडियो पनि सार्वजनिक भएको छैन। तर उनको सन्देश भनेर इरानको सरकारी टेलिभिजनमा प्रस्तोताले पढेर सुनाएका थिए।
‘रगतको बदला लिने’ चेतावनी
सन्देशमा उनले अमेरिका र इजरायलसँगको युद्धमा मारिएका इरानीहरूको ‘रगतको बदला लिने’ चेतावनी दिएका छन्। साथै छिमेकी देशहरूलाई आफ्नो भूमिमा अमेरिकी सैन्य अड्डा सञ्चालन गर्न नदिन पनि चेतावनी दिएका छन्।
आफ्नो पहिलो सार्वजनिक सन्देशमा खामेनीले स्ट्रेट अफ होर्मुज अवरुद्ध गर्नु इरानका लागि ‘रणनीतिक दबाबको साधन’ भएको बताएका छन्। उनका अनुसार यो क्षेत्र यस्तो स्थान हो जहाँ ‘शत्रु अत्यन्त कमजोर’ छ।
छिमेकी देशलाई अमेरिकी अड्डा बन्द गर्न आग्रह
उनले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य बनाएर आक्रमण जारी राख्ने पनि बताएका छन्। यद्यपि इरानले छिमेकी देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने नीति अपनाएको भन्दै ती देशहरूलाई अमेरिकी सैन्य अड्डा बन्द गर्न आग्रह गरेका छन्।
‘हामी १५ वटा छिमेकी देशसँग स्थल वा समुद्री सीमा जोडिएका छौं र सधैं उनीहरूसँग सकारात्मक सम्बन्ध चाहेका छौं,’ सन्देशमा भनिएको छ, ‘तर हाम्रो देशमाथि आक्रमण गर्ने र हाम्रा नागरिकको हत्या गर्ने पक्षप्रति उनीहरूले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ। म उनीहरूलाई अमेरिकी अड्डा यथाशीघ्र बन्द गर्न सुझाव दिन्छु।’
इरानले विश्वको करिब पाँचौं भाग तेल आपूर्ति हुने मार्ग मानिने स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजहरूलाई निशाना बनाउने चेतावनी दिइसकेको छ। सो मार्ग हुँदै आउने–जाने तेल ट्यांकरको आवागमन अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेको छ।
तेहरानले बुधबार विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल २०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ। साथै अमेरिका, इजरायल र उनीहरूका साझेदार देशतर्फ जाने कुनै पनि तेल ट्यांकरमाथि आक्रमण हुन सक्ने चेतावनी पनि दिएको छ।
यता अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले विश्व तेल बजारले अहिले ‘इतिहासकै सबैभन्दा ठूलो आपूर्ति अवरोध’ सामना गरिरहेको जनाएको छ। अहिलेको समस्या समाधानका लागि एजेन्सीले ४० करोड ब्यारेल तेल विश्वबजारमा पठाउने निर्णय गरिसकेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया