१३ वर्षदेखि कोमामा रहेका विरामीलाई इच्छा मृत्युको अनुमति

113 Shares

काठमाडौं । भारतको सर्वोच्च अदालतले १३ वर्षदेखि कोमामा रहेका एक विरामीलाई इच्छा मृत्यु (युथेनेसिया)का लागि अनुमति दिएको छ।

सन् २०१३ मा रक्षा बन्धनका दिन घरको चौथो तलाबाट खसेर गम्भीर घाइते भएका हरिश राणा त्यसयता कोमामा थिए। उनका बाबु–आमाको निवेदनका आधारमा भारतीय सर्वोच्च अदालतले इच्छा मृत्युका लागि अनुमति दिने निर्णय गरेको हो।

भारतीय संविधानले सामान्यतया कुनै पनि व्यक्तिलाई इच्छा मृत्युको अनुमति नदिने व्यवस्था भए पनि अदालतले विशेष परिस्थितिका आधारमा यस्तो निर्णय गरेको हो। न्यायाधीशहरूले हरिशलाई बचाउन सकिने कुनै सम्भावना बाँकी नरहेको निष्कर्ष निकाल्दै मेडिकल बोर्डको सिफारिसपछि इच्छा मृत्युको अनुमति दिएका हुन्।

चौथो तलाबाट खसेपछि टाउको र ढाडमा लागेको गम्भीर चोटका कारण हरिश कोमामा पुगेका थिए। त्यसयता उनको होस नफर्किएको उनका बाबु अशोक र आमा निर्मला राणाले बताएका छन्।

परिवारका अनुसार १३ वर्षसम्म भारतमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामार्फत उपचारको प्रयास गरिएको थियो। उपचारकै क्रममा बस्ने घरसमेत बेच्नुपरेको र अब उपचारका लागि खर्च जुटाउन नसक्ने अवस्था भएपछि उनीहरूले सर्वोच्च अदालतमा इच्छा मृत्युको अनुमति माग्दै निवेदन दिएका थिए।

अदालतले हरिशको इच्छा मृत्यु प्रक्रिया सहज बनाउन सम्बन्धित मेडिकल बोर्डलाई आवश्यक व्यवस्था गर्न पनि आदेश दिएको छ।