काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पटक खुलेको शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ।
सोमबार कारोबार सुरु भएको केही समयमै बजारमा तीव्र वृद्धि देखिएपछि दोस्रो सर्किट ब्रेक लागेको हो। दोस्रो सर्किट लागेसँगै कारोबार ४० मिनेटका लागि स्थगित गरिएको छ।
यसअघि बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। पहिलो सर्किट ब्रेकपछि २० मिनेटपछि खुलेको बजारमा परिसूचक थप १ प्रतिशत बढेपछि समग्रमा ५ प्रतिशत वृद्धि भई दोस्रो सर्किट ब्रेक लागेर कारोबार रोकिएको हो।
हाल नेप्से परिसूचक २ हजार ८४८ अंकमा पुगेको छ भने बजार १३५ अंकले बढेको छ। त्यस्तै २८ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यदि बजार ६ प्रतिशतले बढेमा सो दिनका लागि कारोबार पूर्ण रूपमा बन्द हुने व्यवस्था रहेको छ। प्रतिनिधिसभा निर्वाचनले स्थिर सरकार गठन हुने संकेत देखिएपछि लगानीकर्तामा उत्साह बढेको नेप्सेले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया