आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने, आठ टोली भिड्दै

7 Shares

काठमाडौं । सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।

प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम चारमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यस प्लेअफबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुँदैछ।

प्लेअफमा प्रतिस्पर्धा गर्ने आठमध्ये हालसम्म छ टोलीको टुंगो लागिसकेको छ। नेपाल, क्यानडा र यूएई विश्वकप लिग–२ को अन्तिम चारमा रहने निश्चित भइसकेका छन्। त्यस्तै, च्यालेन्ज लिग ‘बी’ बाट इटाली र युगान्डाले प्लेअफमा स्थान पक्का गरिसकेका छन्।

च्यालेन्ज लिग ‘ए’ बाट जर्सी छनोट हुने निश्चित भएको छ भने कुवेतको सम्भावना पनि बलियो रहेको छ। यद्यपि, लिगका केही खेल बाँकी रहेकाले कुवेतको सहभागिताबारे औपचारिक टुंगो लाग्न बाँकी छ।

त्यसैगरी, विश्वकप लिग–२ बाट ओमान र नामिबियामध्ये एक टोली प्लेअफमा प्रवेश गर्नेछ। उक्त स्थानको पनि अन्तिम निर्णय हुन बाँकी छ।

यसैबीच, विश्वकप छनोट प्लेअफ नेपालमै आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खलाको तालिका पनि परिवर्तन हुने भएको छ।

क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा शृङ्खलाको नयाँ तालिका तय गरी सार्वजनिक गरिनेछ।