पहाडी जिल्लामा आज हर्षोल्लासका साथ होली मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

164 Shares

काठमाडौं — रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ। फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा तथा त्यसको भोलिपल्ट तराई र भित्री मधेशका जिल्लाहरूमा होली पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजयको प्रतीकका रूपमा यो पर्व मनाइन्छ। यस दिन आपसी रिसराग बिर्सेर आफन्तजन तथा साथीसङ्गीसँग अबिर र रङ दलेर रमाइलो गर्ने चलन छ।

होलीलाई मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वका रूपमा लिइन्छ। विभिन्न रङ्गीचङ्गी कपडाले सजाइएको चीर ठड्याएपछि सुरु हुने पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुने गर्दछ।

यस अवसरमा रामचन्द्र पौडेल, सुशीला कार्की लगायत राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सन्देश दिँदै मर्यादित र सभ्य तरिकाले होली मनाउन आग्रह गरेका छन्।

प्रहरी प्रशासनले होलीका नाममा उश्रृङ्खल गतिविधि नगर्न, जथाभावी रङ तथा अबिर नदल्न र सामाजिक सद्भाव कायम राख्न सबैलाई सचेत गराएको छ। नियम उल्लङ्घन गरे कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।