बोलिभियामा वायुसेनाको कार्गो विमान दुर्घटना, २० जनाको मृत्यु

154 Shares

एजेन्सी । लेटिन अमेरिकी राष्ट्र बोलिभियामा वायुसेनाको कार्गो विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।

सान्ता क्रुजबाट उडेको विमान एल अल्टोस्थित विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको उड्डयन अधिकारीहरूले जनाएका छन्। दुर्घटनाग्रस्त विमान C-130 Hercules रहेको बताइएको छ।

बोलिभिया रक्षा मन्त्रालयका अनुसार उक्त विमानले बोलिभियाको केन्द्रीय बैंकका नोटहरू ढुवानी गरिरहेको थियो। दुर्घटनापछि छरिएका नोट संकलन गर्न भीड जम्मा भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको जनाएको छ।

सरकारी सञ्चालित बोलिभियन समाचार एजेन्सीका अनुसार नोट चोरीको आरोपमा कम्तीमा एक दर्जन व्यक्तिलाई पक्राउ गरिएको छ।