इरानविरुद्ध इजरायलको हमला, तेहरानमा विस्फोटका आवाज

196 Shares

काठमाडौं । इजरायलले इरानविरुद्ध आक्रमण सुरु गरेको जनाएको छ। इरानको राजधानी तेहरानमा विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

इरानी समाचार एजेन्सीहरूका अनुसार तेहरानमा कम्तीमा तीनवटा विस्फोटका आवाज सुनिएका छन्। Fars News Agencyले तेहरानको डाउनटाउन क्षेत्रमा कयौं विस्फोटका आवाज सुनिएको उल्लेख गर्दै केही तस्बिरहरू पनि सार्वजनिक गरेको छ।

प्रारम्भिक रिपोर्टअनुसार दानेशगाह स्ट्रिट र जम्हुरी क्षेत्रमा मिसाइल खसेको संकेत प्राप्त भएको जनाइएको छ। इजरायलले उक्त आक्रमणलाई ‘सतर्कतामा गरिएको हमला’ भनेको छ।

इजरायलका रक्षामन्त्री Israel Katzले देशभर ‘विशेष र स्थायी आपतकालीन स्थिति’ घोषणा गरेका छन्।

यसैबीच CNNBBCलगायत सञ्चारमाध्यमहरूले इरानमाथिको आक्रमणमा अमेरिकाले इजरायललाई साथ दिएको उल्लेख गरेका छन्।

Islamic Revolutionary Guard Corpsसँग सम्बन्धित Tasnim News Agencyले इरानको हवाई क्षेत्र बन्द गरिएको जनाएको छ। इजरायली अधिकारीहरूले पनि आक्रमणपछि शनिबारका लागि हवाई क्षेत्र नागरिक उडानका लागि बन्द गरिएको बताएका छन्।

इरानको नागरिक उड्डयन संगठनका प्रवक्ता माजिद अखवानले अर्को सूचना जारी नभएसम्म देशभर हवाई सेवा बन्द गरिएको घोषणा गरेका छन्।