काठमाडौं । Benjamin Netanyahuले इरानको ‘आतंककारी शासन’ ले खडा गरेको अस्तित्वगत खतरा हटाउन अभियान सुरु गरेको बताएका छन्।
इरानमाथि आक्रमण सुरु भएपछि जारी विज्ञप्तिमा उनले इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा उक्त अभियान सुरु गरेको उल्लेख गरेका छन्।
“मेरा दाजुभाइ तथा दिदीबहिनीहरू, इजरायलका नागरिकहरू, केही समयअघि इजरायल र संयुक्त राज्य अमेरिकाले इरानको आतंककारी शासनले खडा गरेको अस्तित्वगत खतरा हटाउन एउटा अभियान सुरु गरेका छन्,” नेतान्याहुले बताएका छन्।
उनले अमेरिकी राष्ट्रपति Donald Trumpको ‘ऐतिहासिक नेतृत्व’ को प्रशंसा गर्दै धन्यवाद दिएका छन्। “म हाम्रो महान् मित्र राष्ट्रपति डोनाल्ड ट्रम्पको ऐतिहासिक नेतृत्वका लागि धन्यवाद दिन चाहन्छु,” विज्ञप्तिमा उल्लेख छ।
नेतान्याहुले इरानका सर्वोच्च नेता Ali Khameneiमाथि आफ्नै जनतामाथि समेत दमन र हिंसा गरेको आरोप लगाएका छन्। “४७ वर्षदेखि आयातोल्लाह शासनले ‘इजरायललाई मृत्यु,’ ‘अमेरिकालाई मृत्यु’ भनेर चिच्याउँदै आएको छ। यसले हाम्रो रगत बगाएको छ, धेरै अमेरिकीहरूको हत्या गरेको छ, र आफ्नै जनतालाई समेत नरसंहार गरेको छ,” उनले भनेका छन्।
उनले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिनुपर्नेमा जोड दिँदै भनेका छन्, “यो हत्यारा आतंककारी शासनलाई मानवतामाथि नै खतरा पैदा गर्न सक्ने आणविक हतियार प्राप्त गर्न दिनु हुँदैन। हाम्रो संयुक्त कार्यले साहसी इरानी जनतालाई आफ्नै भविष्य आफ्नै हातमा लिन सक्ने अवस्था सिर्जना गर्नेछ।”
यसैबीच, नेतान्याहुले इजरायली नागरिकलाई Israel Home Front Commandका निर्देशनहरू पालना गर्न आग्रह गरेका छन्। उनले आगामी दिनहरूमा ‘अपरेसन द रोअर अफ द लायन’ अन्तर्गत सबैले धैर्य र साहस प्रदर्शन गर्नुपर्ने बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया