एजेन्सी । कजाखस्तानको उत्तरी भागस्थित रिसोर्ट शहर श्चुचिन्स्कमा एक क्याफेमा ग्यास विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
प्रारम्भिक रिपोर्टअनुसार क्याफेभित्र ग्यास–हावा मिश्रणका कारण आगलागी भएपछि विस्फोट भएको थियो। एकतले उक्त क्याफे आवासीय भवनसँग जोडिएको थियो र विस्फोटपछि आगलागीसमेत भएको बताइएको छ। क्षेत्रीय आपतकालीन विभागका अनुसार आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ।
क्षेत्रीय अधिकारीहरूका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप २ जनाको आईसीयूमा उपचारका क्रममा ज्यान गएको हो। मृत्यु हुनेहरूमा १६ वर्षीया एक किशोरी पनि रहेकी छन्।
घाइतेमध्ये १३ जना अझै अस्पतालमा उपचाररत छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
प्रहरी तथा सम्बन्धित निकायले विस्फोटको कारणबारे छानबिन सुरु गरेका छन्। प्रारम्भिक रूपमा आगलागी सुरक्षासम्बन्धी नियम उल्लंघन भएको आशंका गरिएको छ। उद्धारकर्ताहरूले घटनास्थलबाट ५० लिटर क्षमताका ५ वटा ग्यास सिलिण्डर र २ वटा अक्सिजन सिलिण्डर हटाएको बताइएको छ, जसले थप विस्फोट हुनबाट जोगाएको अधिकारीहरूले जनाएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया