नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जय ट्रफीको फाइनलमा

66 Shares

काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जय ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन्। आर्मी शीर्ष तथा पुलिस दोस्रो स्थानमा रहँदै उपाधिनजिक पुगेका हुन्।

पुलिसको जित

त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्‍यो। बागमतीले दिएको ८९ रनको लक्ष्य पुलिसले दोस्रो दिनको तेस्रो सत्रमा २ विकेट गुमाएर पूरा गर्‍यो। पुलिसका सोहेल कुँवरले अविजित ३५ रन बनाए। बागमतीका रिजन ढकाल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।

बागमती दोस्रो पारीमा २३७ रनमा अलआउट भएको थियो, जहाँ ईशान पाण्डेले ८० रन जोडे। पुलिसका ललित राजवंशीले ५ विकेट लिए। यसअघि बागमती पहिलो पारीमा १८५ रनमै समेटिँदा ईशानले ४१ रन बनाएका थिए। पुलिसका करण केसीले ४ तथा ललितले ३ विकेट लिए।

पुलिसले पहिलो पारीमा ८ विकेट गुमाएर ३२४ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो। कुशल भुर्तेले ९६, कप्तान आरिफ शेखले ५३ र दिलसाद अलीले ५१ रन बनाए। बागमतीका सन्दीप लामिछानेले ४ विकेट लिए।

आर्मी–एपीएफ खेल बराबरी

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मी र नेपाल एपीएफ क्लबबीचको खेल बराबरीमा टुंगियो।

आर्मीले दिएको ३८१ रनको लक्ष्य पछ्याएको एपीएफले दोस्रो दिन ७ विकेट गुमाएर २२८ रन बनाउँदा खेल सकियो। एपीएफका लोकेश बलमेले ६४ रन बनाए भने आर्मीका नरेन साउदले ५ विकेट लिए।

आर्मीले दोस्रो पारीमा ८ विकेट गुमाएर २६८ रन बनाउँदै पारी घोषणा गरेको थियो। बसिर अहमदले अविजित १०१ तथा कप्तान विनोद भण्डारीले ६३ रन बनाए। एपीएफका कप्तान रोहित पौडेलले ३ तथा पुरन बिकेले २ विकेट लिए।

यसअघि आर्मीले पहिलो पारीमा ९ विकेट गुमाएर २५२ रन बनाउँदै पारी समाप्त गरेको थियो, जहाँ तृतराज दासले १०२ र इमरान शेखले ७१ रन बनाए। एपीएफका युवराज खत्रीले ५ विकेट लिए। एपीएफ पहिलो पारीमा १४० रनमै अलआउट हुँदा कप्तान रोहित पौडेलले ४८ रन जोडे। आर्मीका सोमपाल कामीले ४ विकेट लिए।

प्रतियोगितामा गत वर्षको प्रधानमन्त्री कपका शीर्ष चार टोली सहभागी छन्। फाइनल खेल आइतबारदेखि मंगलबारसम्म त्रिवि मैदानमा हुनेछ।

गत वर्ष आर्मीलाई पराजित गर्दै पुलिसले उपाधि जितेको थियो।