काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको होली पर्वका अवसरमा खुला स्थानमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न तथा मेला–महोत्सव आयोजना गर्न रोक लगाएको छ।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार आसन्न निर्वाचनको सुरक्षा तथा आचारसंहिता पालना सुनिश्चित गर्न यस्तो निर्णय गरिएको हो।
जारी सूचनामा खुला सडक वा सार्वजनिक स्थानमा भेला भई भिड जम्मा गर्ने, मेला–महोत्सव आयोजना गर्ने, मञ्च निर्माण गरी सांगीतिक कार्यक्रम सञ्चालन गर्ने तथा मादक पदार्थको बिक्री–वितरण र सेवन गर्ने जस्ता गतिविधि नगर्न/नगराउन आग्रह गरिएको छ। साथै निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि नगर्न स्पष्ट निर्देशन दिइएको छ।
प्रशासनले होली पर्वको नाममा चुनाव प्रचार हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विशेष कडाइ गरेको जनाएको छ। निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट वा झोला प्रयोग गर्न नहुने स्मरण गराइएको छ। होलीलाई लक्षित गरी उम्मेदवारको तस्वीर वा निर्वाचन चिह्न अंकित सामग्रीको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
त्यस्तै, होली पर्वलाई मर्यादित र सभ्य बनाउन कसैको इच्छा विपरीत रंग, अबिर दल्ने वा लोला हान्ने कार्य पनि नगर्न प्रशासनले अनुरोध गरेको छ। नियम उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया