काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आज (शुक्रबार) तीन जिल्लामा चुनावी सभा आयोजना गर्ने भएको छ। पार्टीले रूपन्देही, बागलुङ र कास्कीमा बृहत् चुनावी कार्यक्रम तय गरेको हो।
कांग्रेसका अनुसार बिहान ११ बजे बुटवलमा पहिलो सभा हुनेछ। त्यसपछि दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे पोखरामा चुनावी सभा आयोजना गरिनेछ।
तीनवटै सभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरू सहभागी हुने कार्यक्रम रहेको छ। नेताहरूले निर्वाचनमा कांग्रेसलाई विजयी गराउन मतदातासँग अपिल गर्ने, पार्टीका नीतिगत प्राथमिकता र विकास योजनाबारे धारणा सार्वजनिक गर्ने जनाइएको छ।
पार्टीका अनुसार सभाहरूमा अन्य दलका नेता–कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउने कार्यक्रम पनि समावेश गरिएको छ। निर्वाचनको मुखमा विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्व तथा कार्यकर्तालाई पार्टीमा समेटेर संगठन सुदृढ गर्ने रणनीति कांग्रेसले अघि बढाएको बताइएको छ।
यसअघि बिहीबार सभापति थापाले सुर्खेत र बाँकेमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए। सुर्खेतमा आयोजित कार्यक्रममा उपसभापति पुष्पा भुसाल समेत उपस्थित थिइन्। ती सभाहरूमा पनि कांग्रेसले सरकार गठनका लागि स्पष्ट बहुमत आवश्यक रहेको भन्दै मतदातालाई समर्थन गर्न आग्रह गरेको थियो।
निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूले देशभर चुनावी गतिविधि तीव्र बनाएका छन्। कांग्रेसले विशेषगरी मधेस, लुम्बिनी र गण्डकी प्रदेशका महत्वपूर्ण निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राख्दै शीर्ष नेताहरूलाई मैदानमा उतारेको छ।
पार्टी स्रोतका अनुसार आगामी दिनमा अन्य प्रदेशका जिल्लामा पनि बृहत् चुनावी सभा तथा घरदैलो कार्यक्रमलाई थप विस्तार गरिनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया