युक्रेन युद्ध अन्त्य सम्झौतामा हतार छैन : रुसी विदेशमन्त्री लाभरोभ

196 Shares

काठमाडौं । रूसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनसँग जारी युद्ध अन्त्यका लागि सम्झौता गर्न कुनै हतार नभएको बताएका छन्।

बिहीबार रुसी सरकारी सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले भने, “हामीसँग कुनै समय सीमा छैन, हामीसँग प्रक्रियागत कार्यहरू छन् र तिनीहरूलाई पूरा गर्ने काम भइरहेको छ।”

युद्ध अन्त्यका लागि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासमा जारी वार्ताकै क्रममा दुवै देशका प्रतिनिधि जेनेभामा पुगेका छन्। अमेरिकी मध्यस्थतामा त्यहाँ वार्ता हुने कार्यक्रम रहेको जनाइएको छ। यसअघि पनि विभिन्न चरणमा वार्ता भए पनि हालसम्म ठोस सम्झौता हुन सकेको छैन।

मस्कोले क्षेत्रीय तथा राजनीतिक मागहरूमा अडान कायम राखेको छ, जसलाई युक्रेनले आत्मसमर्पण सरह हुने भन्दै अस्वीकार गर्दै आएको छ।

यसैबीच, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शान्ति प्रक्रिया कुन चरणमा पुगेको छ भन्नेबारे अहिले नै पूर्वानुमान गर्नु गल्ती हुने प्रतिक्रिया दिएका छन्।

उता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता आवश्यक रहेको बताउँदै आएका छन्। तर पुटिन हालसम्म त्यस्तो भेटवार्ताका लागि तयार नभएको जनाइएको छ।