निर्वाचनअघि ७ दिन मादक पदार्थ बिक्री–सेवन पूर्णरूपमा प्रतिबन्ध, सवारी रोक, मौन अवधि सुरु

168 Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मतदानको ७ दिन अघि देखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ (मदिरा)को बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिसमा आयोगले यो निर्णय गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने लक्ष्य राखेको छ। आयोगले फागुन १८ गते राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि (मौन अवधि) लागू गर्ने र फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवा बाहेक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने पनि जनाएको छ।

निर्वाचन प्रचारप्रसार निषेध अवधिमा आचारसंहिता पालन गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिइएको छ। यस अवधिमा उल्लंघन भएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्नुपर्ने व्यवस्था गरिएको छ।

आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई पनि चेतावनी दिएको छ कि उनीहरूले कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा गतिविधि गर्नु हुँदैन। यदि शैक्षिक संस्थामा संवद्ध कर्मचारी आचारसंहिताविपरीत प्रचारमा संलग्न पाइएमा पदबाटै हटाइने वा कडा कानूनी कारबाही हुने व्यवस्था छ।

सवारी साधनमा रोक लागू भए पनि अत्यावश्यक सेवाका साधन (एम्बुलेन्स, दमकल, शव वाहन, सुरक्षा निकायका साधन, विद्युत, खानेपानी आदि) र पास प्राप्त सवारी साधन भने संचालनमा आउन सक्नेछन्। मतदानको दिन अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडानहरू भने यथावत् सञ्चालन हुनेछन्।

मतदाताका लागि वैकल्पिक परिचयपत्रको व्यवस्था गरिएको छ। मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका नागरिकले नेपाली नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्र मध्ये कुनै एक देखाएर मतदान गर्न सक्नेछन्। आयोगले मतदान केन्द्रका सुरक्षाकर्मी र कर्मचारीलाई आवश्यक सूचना उपलब्ध गराइसकेको छ।