गगनकुमार थापाः संविधानको रक्षा र स्थायी सरकारका लागि निर्वाचन अनिवार्य

164 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानलाई सही मार्गमा राख्न निर्वाचन अनिवार्य शर्त भएको बताएका छन्।

आज सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले चुनाव कुनैपनि दलको योजना अनुसार नभई वर्तमान परिस्थितिको बाध्यता भएको स्पष्ट पार्नुभयो। उनले संविधानलाई सही लयमा फर्काउन निर्वाचन अपरिहार्य रहेको दोहोर्‍याउँदै, परिणामको चिन्ता नगरी चुनावलाई सफल बनाउन पार्टी लागिपरेको उल्लेख गर्नुभयो।

थापाले केही तत्वहरुले निर्वाचनका विषयमा भ्रम सिर्जना गर्ने प्रयास गरिरहेको भन्दै, तोकिएकै समयमा मतदान सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उनले आगामी वर्षहरुमा गत भदौको जस्तो आन्दोलन नहोस् भन्ने योजनासहित काँग्रेस जनतासामु गएको र अब कुनैपनि प्रकारका आन्दोलन वा विध्वंश हुन नदिने प्रतिज्ञा दोहोर्‍याउनुभयो।

कार्यक्रममा कांग्रेस उपसभापति पुष्पा भुसालले मुलुकलाई राजनीतिक स्थिरताको बाटोमा अघि बढाउन निर्वाचनपछि नेपाली कांग्रेस नेतृत्वमा स्थायी सरकार निर्माण अपरिहार्य भएको बताए।

पुस्तान्तरणको मुद्दालाई पार्टीले स्थापना गरिसकेको दाबी गर्दै, सभापतिले आउने प्रदेश र स्थानीय तहको निर्वाचनसम्म प्रतिज्ञापत्रको कार्यान्वयनबारे मतदाताले प्रश्न गर्ने वातावरण सिर्जना नहुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।