काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बिहीबार एकैदिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्ने भएको छ ।
यसअघि फागुन ६ गते जनकपुर मा पहिलो चुनावी सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको कांग्रेसले प्रचार अभियानलाई तीव्र बनाएको हो ।
बिहीबार सुर्खेत र बाँकेमा हुने सभामा सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेता सहभागी हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । सभापति थापासहितका नेताहरू हेलिकप्टरमार्फत कार्यक्रममा पुग्ने बताइएको छ ।
सभामा सम्बन्धित प्रदेशभित्रका प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरूको पनि उपस्थिति रहनेछ ।
कांग्रेसले शुक्रबार बुटवल र पोखरा मा चुनावी सभा गर्ने कार्यक्रम तय गरेको छ । साथै फागुन १७ गते काठमाडौंमा पनि चुनावी सभा गर्ने तयारी रहेको जनाइएको छ ।
पार्टीले कोशी र सुदूरपश्चिम प्रदेशमा समेत चुनावी सभाको तयारी गरिरहेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया