देश र मधेस विभाजन गर्ने राजनीति अन्त्य गर्छौं : रवि लामिछाने

142 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले देश र मधेसलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्ने घोषणा गर्नुभएको छ।

बुधबार जनकपुरधाम मन्दिर परिक्रमा गर्ने क्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो। अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा बलियो रूपमा उठाए पनि विभेदको विषयमा पर्याप्त आवाज उठाउन नसकेको स्वीकार गर्दै उहाँले विभेदको अन्त्य र सुशासनको स्थापना रास्वपाको प्रमुख एजेण्डा भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “देश र मधेसलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्न खोजेका हौँ। हामीले यसअघिको निर्वाचनमा सुशासनको कुरा गर्‍यौँ, तर विभेदको विषयमा त्यतिकै चर्को रूपमा आवाज उठाउन सकेनौँ। यसपटक भने विभेदको अन्त्यसँगै सुशासनको स्थापना गर्ने प्रतिबद्धताका साथ आएका छौँ।”

उहाँले जनकपुरधामलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने गरी पार्टीले विशेष कार्यक्रम अघि सार्ने वाचा पनि गर्नुभयो।

कार्यक्रममा धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनिष झाको समेत उपस्थिति रहेको थियो।