ब्राजिलको मिनास जेरेइसमा बाढी–पहिरो: २५ जनाको मृत्यु, सयौँ परिवार विस्थापित

117 Shares

एजेन्सी। ब्राजिल को दक्षिण–पूर्वी राज्य मिनास जेरेइस मा सोमबार परेको भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ।

BBC का अनुसार सबैभन्दा बढी क्षति जुइज दि फोरा शहरमा भएको छ, जहाँ १८ जनाको मृत्यु पुष्टि भएको छ। त्यसैगरी उबा शहरमा ७ जनाको ज्यान गएको जनाइएको छ। रातिको समयमा घरहरू भत्किँदा धेरै मानिस बेपत्ता भएका हुन्। उद्धारकर्मी तथा स्थानीय बासिन्दाहरूले भग्नावशेष र हिलो हटाउँदै हराइरहेकाहरूको खोजी कार्य जारी राखेका छन्।

लुइज इन्सियो लुला दा सिल्भा ले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै जुइज दि फोरामा आपत्काल घोषणा गरेका छन्। उनले राहत, उद्धार तथा पुनर्निर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको बताएका छन्। जुइज दि फोरामा मात्रै करिब साढे ४ सय परिवार घरबारविहीन भएका छन्। नगरका मेयर मार्गारिदा सालोमाओ ले यसलाई आफ्नो पाँच वर्षे कार्यकालकै सबैभन्दा दुःखद क्षण बताउँदै तीन दिन शोक मनाउने घोषणा गरेकी छन्।

राज्यका गभर्नर रोमेउ जेमाले ले प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएका छन्। अधिकारीहरूका अनुसार यस वर्ष फेब्रुअरी महिनामा जुइज दि फोरामा इतिहासकै सबैभन्दा ठूलो वर्षा मापन भएको छ। राष्ट्रिय मौसम निकायले मिनास जेरेइस, रियो दि जेनेरो सहित १२ भन्दा बढी राज्यमा भारी वर्षाको चेतावनी जारी गरेको छ।

यसअघि सन् २०२४ मा रियो ग्रान्दे दो सुल राज्यमा आएको बाढी र पहिरोका कारण करिब २ सय जनाको ज्यान गएको थियो भने २० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए।