काठमाडौं । नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरूलाई नै मुख्य चुनावी एजेण्डा बनाएको बताएका छन्।
पथरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले ‘काँग्रेस बोल्छ कम, काम बढी गर्छ’ भन्ने गिरिजाप्रसाद कोइरालाको मान्यतालाई आफूले व्यवहारमा उतारेको दाबी गरे। उनले पथरीमा निर्माण भएको ३५ करोड रुपैयाँ लागतको खानेपानी ट्याङ्की तथा ३० वर्षदेखि अलपत्र रहेको पथरी–डायनिया–सिक्टी व्यापारिक मार्ग निर्माणलाई आफ्नो प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरे।
शर्माले ३५ वर्षदेखि सुकुम्वासीहरूले भोग्दै आएको धनीपुर्जा सम्बन्धी समस्या समाधानका लागि ठोस पहल गरिएको बताए। “कानून बनाएर नापी पठाएपछि ५०० भन्दा बढीलाई धनीपुर्जा वितरण गरिसकेका छौँ,” उनले भने, “जेन–जी मुभमेन्टपछि केही समय रोकिएको प्रक्रिया नयाँ सरकार गठनलगत्तै पुनः सुरु हुनेछ र सबै नागरिकले निस्सा र धनीपुर्जा पाउनेछन्।”
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा आफ्नो विशेष रुचि रहेको उल्लेख गर्दै २५ वर्षदेखि रोकिएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनको निर्णय गराउन सफल भएको बताए। आगामी दुई हप्ताभित्र डाक्टर पढ्ने विद्यार्थी भर्ना हुने र पाँच वर्षभित्र ५०० शैय्याको अत्याधुनिक टिचिङ अस्पताल निर्माण गरिने उनको घोषणा छ।
त्यस्तै, क्षेत्रका ९० प्रतिशत सहायक सडकहरू पिच गरिसकेको दाबी गर्दै उनले बेलबारी, लेटाङ, लालभित्ती र सुन्दरहरैंचाका बासिन्दा अब धुलो र हिलोबाट मुक्त भएको बताए।
२०७९ को निर्वाचनमा प्राप्त समर्थनप्रति आभार व्यक्त गर्दै उनले २०८२ सालको निर्वाचनमा अझ बढी मतसहित विजयी गराएर काठमाडौं पठाउन मतदातासँग आग्रह गरे। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिँदै उनले हरेक वडाबाट २०७९ भन्दा बढी मत ल्याउने लक्ष्यका साथ अभियान अघि बढाउन आह्वान गरे।
फेसबुकबाट तपाईको प्रतिक्रिया