रास्वपाका सभापति लामिछानेले शिक्षकलाई चिन्ता नगर्न सुझाए

141 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शिक्षकहरूलाई संगठित भएर चिन्ता नगर्न सुझाव दिएका छन्।

मंगलबार इटहरीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै लामिछानेले शिक्षकहरूमाथि हाल फैलिएका आशंका र डरलाई सम्बोधन गर्दै भने, “शिक्षक साथीहरू पनि संगठित भएको सुनियो। हाम्रो पेशागत संगठन संकटमा पर्‍यो, हाम्रो संगठन खारेज गर्न पाइँदैन भनेको सुनियो। चिन्ता नगर्नुस्, तपाईँहरूले स्मार्ट क्लासरुम कसरी बनाउने हो, त्यसको योजना बनाउनुस्। राजनीतिको ठेक्का हामीलाई दिनुस्, हामी गरौँला।”

उनले शिक्षकहरूलाई शिक्षा प्रणाली सुधार र विद्यार्थीको भविष्यमा ध्यान दिन आह्वान गर्दै थपे, “यो देशका हरेक विद्यार्थीलाई कसरी राम्रो शिक्षा दिने, हरेक कक्षाकोठा र हरेक विद्यार्थीको भविष्यमा ध्यान दिन तपाईँहरूले योजना बनाउनुपर्छ। तपाईँहरूको सुरक्षा नेताले होइन, रास्वपाको नीतिले गर्छ। विद्यार्थीको भविष्यको सुरक्षा तपाईँहरूले गर्नुहोस्।”

लामिछानेको यो अभिव्यक्तिले शिक्षक र शिक्षा क्षेत्रसँगको सम्बन्ध सुदृढ पार्दै चुनावी अभियानमा शिक्षकहरूको भूमिकालाई पनि जोड दिएको देखिन्छ।