काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशभित्र सम्भावना अनुसार उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बताएका छन्।
मंगलबार सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी सभामा सम्बोधन गर्दै बालेनले पूर्वी पहाडी तथा तराई क्षेत्रको कृषि उत्पादनप्रति जोड दिँदै बताए कि स्थानीय उत्पादन पर्याप्त भए पनि उपभोक्तासम्म पुग्न नसक्ने समस्या रहेको छ।
उनले उदाहरणसहित प्रश्न उठाए, “चिया पिउनुभयो ? कुन ठाउँको चिया पिउनुभयो ? इलाम–दमकको चिया। खाना खानुभयो ? बिहानको तरकारी कहाँको खानुभयो ? बोर्डर पारिको।” उनले उल्लेख गरे कि तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी इटहरीवासीले खान पाएका छैनन्।
बालेनले भने, “हाम्रै पूर्वी पहाडको तरकारी झापा, सुनसरी, विराटनगरसम्म पुग्न सकेको छैन। यो दु:खको कुरा हो, र यसको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी।”
पूर्वी तराईका तीन–चार जिल्लाको पूर्ण सम्भावनामा धान उत्पादन गर्न सकिएमा देशभरिका नागरिकलाई पर्याप्त खाना उपलब्ध गराउन सकिने उल्लेख गर्दै उनले रास्वपाले यही लक्ष्य राखेको र उत्पादन–आधारित विकासको अभियान अघि बढाउने बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया