काठमाडाैं । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गर्दै साम्बाको घुँडाको गम्भीर चोटका कारण हाल जटिल शल्यक्रियाको तयारी भइरहेको जानकारी दिनुभएको छ। उनले पार्टीको तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गरिएको जानकारी समेत दिएका छन्।
साम्बाको उपचारका लागि कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघका अध्यक्ष पङ्कजविक्रम नेम्बाङलाई टेलिफोनमार्फत सम्पर्क गरी खेलाडीको उपचार कोषमा पार्टीको तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। विज्ञप्तिका अनुसार उक्त रकम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खाता नं ३४४०१०१०००११३७ मा जम्मा गरिएको छ।
पार्टी सभापति गगन थापाले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।







फेसबुकबाट तपाईको प्रतिक्रिया